रास्वपाको महामन्त्रीमा विपिन आचार्य निर्वाचित, ‘जनताको अपेक्षामा खरो उत्रिन्छु’

शुक्रबार, असार १२, २०८३

काठमाडौं, १२ असार - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा विपिन आचार्य निर्वाचित भएका छन् । यसअघि सहमहामन्त्रीको जिम्मेवारी सम्हालिरहेका आचार्य पार्टीको महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएका हुन् ।

निर्वाचित भएपछि उनले महाधिवेशन व्यवस्थापनमा कमजोरी भएको स्वीकार गर्दै कार्यकर्ता तथा प्रतिनिधिसँग माफी मागेका छन् । तीन दिनमै सम्पन्न हुनुपर्ने महाधिवेशन पाँच दिनभन्दा बढी समय लागेको भन्दै उनले व्यवस्थापकीय पक्षमा कमजोरी भएको बताएका हुन् ।

महामन्त्रीमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै आचार्यले नेपाली जनताले रास्वपालाई दिएको जिम्मेवारी पूरा गर्न आफू प्रतिबद्ध रहेको बताए ।

‘नेपाली जनताले जुन अपेक्षा राखेको छ, त्यसमा खरो उत्रिएर जिम्मेवारी पूरा गर्नेछु । विधिसम्मत तरिकाले नागरिकप्रति उत्तरदायी हुने गरी भूमिका खेल्नेछु,’ उनले भने ।

उनले आफूलाई पार्टीभित्र इमान्दार र जिम्मेवार योद्धाका रूपमा स्थापित गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । ‘महामन्त्रीका रूपमा पार्टीमा इमान्दार योद्धाको रूपमा मलाई धेरैले देख्न सक्नेछन् । जहाँ विधि, पारदर्शिता र ऐक्यबद्धतातर्फ लैजान मेरो भूमिका रहनेछ,’ उनले बताए ।

आचार्यले संगठनात्मक सुधारलाई पनि प्राथमिकतामा राख्ने उल्लेख गरे । स्थानीय तहका लागि उपयुक्त उम्मेदवार छनोटदेखि पार्टी सञ्चालन प्रणाली सुधारसम्म आफ्नो ध्यान केन्द्रित हुने उनले बताए ।

‘स्थानीय तहको उम्मेदवार उपयुक्त छान्ने तिर मेरो ध्यान हुनेछ । पार्टी सञ्चालन कसरी हुन्छ भन्ने कुराले सरकार सञ्चालनमा पनि प्रभाव पार्ने भएकाले मेरो ध्यान त्यसमा पनि रहनेछ,’ उनले भने ।

प्रकाशित मिति: शुक्रबार, असार १२, २०८३  १९:१०
प्रतिक्रिया दिनुहोस्
समाचार