एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ

बिहीबार, असार १८, २०८३

जनकपुरधाम, १८ असार - नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन्। थमन विक हत्या प्रकरणमा उच्च अदालत जनकपुरले पाँच वर्ष कैद सजाय सुनाएको केही समयमै प्रहरीले उनलाई महोत्तरीको गौशाला नगरपालिकाबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार कोइरीलाई बुधबार गौशाला–निगौल क्षेत्रबाट नियन्त्रणमा लिइएको हो। उनी गौशाला–निगौलका स्थायी बासिन्दा हुन्।

यसअघि सोही मुद्दामा महोत्तरी जिल्ला अदालतले कोइरीलाई सफाइ दिएको थियो। तर उक्त फैसला विरुद्ध परेको पुनरावेदनमाथि सुनुवाइ गर्दै उच्च अदालत जनकपुरले जिल्ला अदालतको फैसला उल्ट्याउँदै उनलाई पाँच वर्ष कैद सजाय हुने निर्णय सुनाएको हो।

उच्च अदालतको आदेश सार्वजनिक भएसँगै प्रहरीले उनलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।

थमन विक हत्या प्रकरण लामो समयदेखि चर्चामा रहेको मुद्दा हो। उच्च अदालतको पछिल्लो फैसलासँगै यस घटनाले पुनः राजनीतिक तथा कानुनी वृत्तमा चर्चा पाएको छ।

प्रहरीले अदालतको आदेशअनुसार कोइरीलाई सम्बन्धित कारागार पठाउने प्रक्रिया अघि बढाएको जनाएको छ।

प्रकाशित मिति: बिहीबार, असार १८, २०८३  १९:५५
प्रतिक्रिया दिनुहोस्
समाचार