बाढीपीडितका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षक–कर्मचारीले दुई दिनको तलब दिने

मंगलबार, भदौ १६, २०८३

दाङ, १६ भदौ - रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको सहयोग तथा उद्धारका लागि दाङकाे घाेराहीमा रहेकाे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिष्ठानका उपकुलपति अजयकुमार मिश्रद्वारा जारी सार्वजनिक प्रतिबद्धतामा बाढीका कारण ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिएको छ । साथै, बाढीबाट घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।

विपद्को यस दुःखद् घडीमा बाढीपीडितको सहयोग र उद्धारका लागि प्रतिष्ठानका शिक्षक तथा कर्मचारीहरूले स्वेच्छिक रूपमा दुई दिनको तलब बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका छन् ।

प्रतिष्ठानका अनुसार शिक्षक तथा कर्मचारीहरूले व्यक्तिगत तहबाट समेत आर्थिक तथा भौतिक सहयोग गरिरहेका छन् । आवश्यकता र परिस्थितिका आधारमा आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिइने प्रतिष्ठानले जनाएको छ ।

विपद् प्रभावित नागरिकलाई आवश्यक स्वास्थ्य सेवा तथा अन्य सहयोग उपलब्ध गराउन नेपाल सरकारका विभिन्न निकायसँग समन्वय गरी प्रतिष्ठान सधैँ तत्पर रहने प्रतिबद्धतामा उल्लेख छ ।

प्राकृतिक विपद्का साथै सम्भावित प्राकृतिक तथा मानव सिर्जित आपत्कालीन अवस्थाबाट प्रभावित नागरिकको जीवनरक्षा र स्वास्थ्य सेवा प्रवाहका लागि प्रतिष्ठान सदैव तयार र प्रतिबद्ध रहेको उपकुलपति मिश्रद्वारा जारी सार्वजनिक प्रतिबद्धतामा जनाइएको छ । साभार समाचार

प्रकाशित मिति: मंगलबार, भदौ १६, २०८३  १५:२६
प्रतिक्रिया दिनुहोस्
समाचार