भोटेकोशी बाढी अपडेट

भोटेकोशी बाढी : १ हजार ३६७ शव फेला, ५ हजार १३२ जना अझै सम्पर्कविहीन

बुधबार, भदौ २४, २०८३

काठमाडाै‍,२४ भदाै – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीको आज १५औँ दिनसम्म १ हजार ३६७ जनाको शव फेला परेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी प्रभावित विभिन्न जिल्लाबाट ती शव फेला परेका हुन्। हालसम्म रसुवामा १७४, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, तनहुँमा ३८, चितवनमा ३६३, नवलपरासी पूर्वमा २२६ र नवलपरासी पश्चिममा २२२ वटा शव फेला परेका छन्। उपचारका क्रममा काठमाडौँमा थप दुई जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ।

फेला परेका शवमध्ये १०२ जनाको सनाखत गरी आफन्तलाई बुझाइएको छ।

बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यलाई तीव्र पारिएको प्राधिकरणका अनुसार हालसम्म १३ हजार ६४६ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ३ हजार ६२८ जना रसुवा, नुवाकोट र धादिङका ३९ वटा होल्डिङ सेन्टरमा आश्रय लिएर बसिरहेका छन्।

तर बाढीपछि अझै ५ हजार १३२ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। सम्पर्कविहीन हुनेमध्ये सबैभन्दा धेरै रसुवाका २ हजार ८६० जना र नुवाकोटका १ हजार ३९३ जना छन्।

बाँकी सम्पर्कविहीनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न सरकारी निकायका कर्मचारी तथा अन्य जिल्लाका नागरिकसमेत रहेको प्राधिकरणले जनाएको छ।

बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्स्थापनाका कामलाई तीव्रता दिइएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

 

प्रकाशित मिति: बुधबार, भदौ २४, २०८३  १८:२५
प्रतिक्रिया दिनुहोस्