सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
सियोल, दक्षिण कोरिया,२९भदाै - दक्षिण कोरियामा क्रियाशील नेपाली जनप्रगतिशील मञ्च, दक्षिण कोरियाले आफ्नो नाम परिवर्तन गरी ‘अन्तर्राष्ट्रिय नेपाली मञ्च, दक्षिण कोरिया’ कायम गर्ने निर्णय गरेको छ। मञ्चले आइतबार पत्रकार सम्मेलनमार्फत नाम परिवर्तनको औपचारिक घोषणा गरेको हो।
मञ्चका संयोजक जीवन खडिवडाद्वारा जारी प्रेस विज्ञप्तिमा नेपालमा कम्युनिस्ट घटक तथा अग्रगामी शक्तिहरूबीच एकता र ध्रुवीकरणको प्रक्रिया अघि बढिरहेको वर्तमान राजनीतिक सन्दर्भलाई समेत ध्यानमा राख्दै संगठनको नाम परिवर्तन गरिएको उल्लेख छ।
विज्ञप्तिअनुसार नेपालमा तत्कालीन नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच एकीकरणको औपचारिक प्रक्रिया अघि बढ्नुअघि नै दक्षिण कोरियामा रहेका प्रवासी नेपाली संगठनहरूबीच एकताको प्रक्रिया अघि बढेको थियो। त्यसक्रममा प्रवासी नेपाली एकता मञ्च र नेपाली जनप्रगतिशील मञ्चबीच ऐतिहासिक एकता सम्पन्न भएको जनाइएको छ। एकतापछि संगठनले दक्षिण कोरियामा रहेका विभिन्न नेपाली संघ–संस्था तथा आम नेपाली समुदायको सहभागितासहित आफ्नो गतिविधिलाई निरन्तरता दिँदै आएको जनाएको छ। नेपालमा विभिन्न कम्युनिस्ट घटक तथा अग्रगामी समूहहरूबीचको एकताबाट नयाँ राजनीतिक धरातल निर्माण भइरहेको अवस्थामा आफ्नो संगठनात्मक पहिचानलाई पनि समयानुकूल परिमार्जन गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ।
२०२६ सेप्टेम्बर १३ देखि ‘नेपाली जनप्रगतिशील मञ्च, दक्षिण कोरिया’को नाम परिवर्तन गरी ‘अन्तर्राष्ट्रिय नेपाली मञ्च, दक्षिण कोरिया’ कायम गरिएको हो। नाम परिवर्तन केवल नाममा सीमित नभई बदलिँदो धरातलीय यथार्थ, प्रवासी नेपाली समुदायको व्यापकता र संगठनको आगामी भूमिकालाई थप फराकिलो तथा प्रभावकारी बनाउने उद्देश्यसँग सम्बन्धित रहेको मञ्चले जनाएको छ। नयाँ नाम र पहिचानसहित मञ्चले दक्षिण कोरियामा रहेका नेपाली समुदायको हित, अधिकार, एकता र सामाजिक सुरक्षाका सवालमा थप सशक्त भूमिका निर्वाह गर्दै नेपाल र नेपाली जनताको समृद्धि तथा राष्ट्रिय हितका पक्षमा आफ्नो सक्रियता विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।