सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
काठमाडौँ, १ कात्तिक - असोज शुक्ल अष्टमीका दिन मनाइने महाअष्टमी पर्व आज दुर्गा भवानीको विशेष पूजाआराधना गरी मनाइँदैछ। बडादसैँको आठौँ दिनका रूपमा मनाइने महाअष्टमीमा देशभरका दुर्गा मन्दिर तथा शक्तिपीठहरूमा बिहानैदेखि श्रद्धालु भक्तजनको घुइँचो लागेको छ।
महाअष्टमीका दिन महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आराधना गर्ने धार्मिक परम्परा छ। वैदिक सनातन परम्पराअनुसार यस दिन दुर्गा भवानीको विशेष उपासना गरी शक्ति, साहस र समृद्धिको कामना गरिन्छ। दसैँका अवसरमा स्थापना गरिएका दुर्गा भवानीका प्रतिमासहित विभिन्न शक्तिपीठमा विधिपूर्वक पूजा गर्ने चलन छ।
महाअष्टमीका दिन काठमाडौँ उपत्यकाका गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, वज्रयोगिनी, सङ्कटा, बज्रवाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाई, भाटभटेनी र बङ्गलामुखीलगायतका शक्तिपीठमा भक्तजनको भीड लागेको छ। श्रद्धालुहरू बिहानैदेखि मन्दिर पुगेर पूजाआजा तथा दर्शन गरिरहेका छन्।
त्यसैगरी उपत्यकाबाहिरका प्रमुख शक्तिपीठहरूमा पनि भक्तजनको चहलपहल बढेको छ। धादिङको कालिका भगवती, गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डडेलधुराको उग्रतारा, काभ्रेको चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालिञ्चोक भगवती तथा ताप्लेजुङको पाथीभरा मन्दिरमा समेत श्रद्धालु भक्तजनले पूजाआजा गरिरहेका छन्।
धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतमका अनुसार महाअष्टमीको राति कालरात्रिका रूपमा विशेष विधि र सङ्कल्पसहित पूजा आराधना गर्ने परम्परा छ। कालरात्रि पूजाको विधि र सङ्कल्प अन्य पूजाभन्दा फरक हुने भएकाले यसको छुट्टै धार्मिक महत्त्व रहेको उहाँले बताउनुभएको छ। काठमाडौँस्थित हनुमानढोका दरबार क्षेत्रको दसैँघरमा पनि महाअष्टमीको राति कालरात्रि पूजा गर्ने परम्परा छ।
महाअष्टमीका दिन घरघरमा रहेका कलपूर्जा, हातहतियार तथा यातायातका साधनलाई सरसफाइ गरी दुर्गा भवानीको पूजा गर्ने चलनसमेत छ। परम्पराअनुसार यस्ता सामग्रीलाई देवी स्थापना गरिएको स्थानमा राखेर विधिपूर्वक पूजा गरिन्छ। यसलाई शक्ति र सुरक्षाको कामनासँग जोडेर हेरिन्छ।
यस दिन कतिपय स्थानमा काँक्रो, घिरौँला, कुभिण्डो, मूला र नरिवल चढाएर पूजा गर्ने परम्परा पनि छ। विभिन्न समुदाय र स्थानअनुसार महाअष्टमी मनाउने विधिमा केही भिन्नता पाइन्छ। बडादसैँको महत्त्वपूर्ण दिनका रूपमा रहेको महाअष्टमीमा दुर्गा भवानीको आराधना, शक्तिपीठको दर्शन र पारिवारिक धार्मिक परम्पराको निरन्तरताले विशेष स्थान पाउँदै आएको छ।