सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
काठमाडौं, ३ मंसिर - नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा फाइनल प्रवेश गर्ने दोस्रो टोलीको टुङ्गो आज लाग्दैछ । दोस्रो क्वालिफायरमा आज चितवन राइनोज र सुदूरपश्चिम रोयल्सबीच खेल हुँदैछ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने खेल बेलुका ५ बजे सुरु हुनेछ । आजको खेल जित्ने टोलीले उपाधिका लागि पर्सि शनिबार साविक विजेता लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ ।
यसअघि पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स फाइनलमा पुगिसकेको छ । पहिलो क्वालिफायरमा सुदूरपश्चिम पराजित भएकाले आज उसलाई हारको बदला लिँदै लगातार तेस्रोपटक फाइनल पुग्ने अवसर छ ।
चितवन राइनोज भने पहिलोपटक एनपीएलको फाइनलमा पुग्ने लक्ष्यसहित मैदान उत्रनेछ । चितवनले दोस्रो क्वालिफायरमा स्थान बनाउने क्रममा बुधबार भएको एलिमिनेटरमा काठमाण्डु गोर्खाजलाई ६१ रनले पराजित गरेको थियो ।
चितवनले दिएको २०५ रनको लक्ष्य पछ्याएको काठमाण्डु गोर्खाजले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४३ रन मात्रै बनाउन सक्यो । यससँगै काठमाण्डुको उपाधि यात्रा समाप्त भएको थियो ।
आजको खेल चितवन र सुदूरपश्चिम दुवैका लागि महत्वपूर्ण छ । चितवन विजयी भए पहिलोपटक फाइनलमा पुग्दै इतिहास रच्नेछ भने सुदूरपश्चिमले जित निकाले लगातार तेस्रोपटक उपाधि भिडन्तमा स्थान बनाउनेछ ।
सुदूरपश्चिम यसअघि एनपीएलको पहिलो र दोस्रो संस्करणमा पनि फाइनलमा पुगेको थियो । तर, दुवैपटक उपाधि जित्न असफल भएको थियो । यसपटक भने सुदूरपश्चिम तेस्रो प्रयासमा उपाधि जित्ने लक्ष्यमा छ ।