Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

जनप्रतिनिधिको अर्गानिक तरकारी खेतीः स्वास्थ्य, आत्मनिर्भरता र वातावरणप्रति सन्तुलित दृष्टिकोण

शुक्रबार, जेठ २३, २०८२

सिसहनियाँ, २३ जेठ - “पहिला पैसाका लागि खेती गरिन्थ्यो, अब जनताको स्वास्थ्यका लागि गरिरहेकी छु।” यो भनाइ हो—राप्ती गाउँपालिकाकी कार्यपालिका सदस्य सावित्री चौधरीको। एक वर्षअघिसम्म राजनीतिक चासोमा सक्रिय सावित्री अहिले अर्गानिक खेतीमा पनि अग्रणी हुनुहुन्छ । जिम्मेवारीको गहिरो अनुभूति, माटोसँगको सम्बन्ध र स्वस्थ समाजप्रतिको सोचका साथ उहाँले यो यात्रा थाल्नुभएकाे हाे।

चौधरीको परिचय केही समयअघिसम्म योजना निर्माण, बैठक सहभागिता र विकास योजनाको नीति–निर्माणसम्म सीमित थियो। तर अब त्यो परिधिबाट निस्किएर उहाँ कृषकको भूमिकामा प्रस्तुत हुनु भएको छ—तर परम्परागत शैलीमा होइन, अर्गानिक सोचका साथ।

राप्ती गाउँपालिका–७, छोट्की सिसहनियाँस्थित आफ्नै ६ कठ्ठा जमिनमा उहाँले अर्गानिक तरकारी खेती सुरु गर्नुभएको छ । सुरुमा करेला,बडी र भिन्डी लगाउनुभयाे। उहाँले भन्नुभयो, “पहिलो पटक भएकाले डर लागिरहेको थियो—रासायनिक मल, विषादी बिना उत्पादन हुन्छ कि हुँदैन भन्ने द्विविधा थियो। तर वडा नं. ६ मा बनाइने प्राङ्गारिक मल र गडौला मल प्रयोग गरेँ। फल राम्रै भयो, बोट हेर्दा आत्मसन्तुष्टि मिल्यो।”

बारीमा बोट लहराउन थालेपछि कीराको समस्या पनि देखापर्‍यो। धेरैले रासायनिक विषादी प्रयोग गर्न सुझाए। तर सावित्री त्यो बाटो लाग्नु भएन। “थोरै जैविक विषादी प्रयोग गरेँ। बोट पनि बच्यो, वातावरण पनि,” उहाँले सुनाउनुभयो , “हामीलाई यस्तै सन्तुलन सिक्न जरुरी छ।”

उत्पादन राम्रो भयो—करेला,बडी ताजा, भिन्डी सफा। तर जब भालुबाङ बजारमा पुग्नुभयाे, त्यहाँ भने अर्गानिकको मूल्य बुझाउने चुनौती देखियो। “अर्गानिक तरकारीको महत्त्व नै धेरैलाई थाहा छैन,” उहाँले गुनासो गर्नुभयो , “रासायनिक तरकारीसँगै उस्तै मूल्यमा बेच्नुपर्‍यो। त्यो पीडादायी थियो।”

तर सावित्री त्यसबाट निराश हुनुभएन। बरु यो अवस्थालाई परिवर्तन गर्ने सपना बुन्न थाल्नुभयाे। “अर्को वर्ष बारीको क्षेत्रफल बढाउँछु। म बगर कृषि सहकारी संस्थाकाे अध्यक्ष पनि हाे सहकारीका सबै सदस्यहरूलाई अर्गानिक खेतीतर्फ जाेड्ने योजना बनाएकी छु,” उहाँले भन्नुभयो , “हामी जनप्रतिनिधिले प्रमाणित गर्नुपर्छ कि सफा खाना उत्पादन सम्भव छ—आफ्नै गाउँमै, आफ्नै जमिनमै।”

सावित्री चौधरीको यो यात्रा केवल खेतीको प्रयोग होइन—यो नेतृत्वको परिभाषा परिवर्तन हो। आज नीति निर्माण गर्ने उहाँ , त्यसै नीति अभ्यास गर्न बारीमा पसिरहनु भएको छ। अहिलेको विषादीयुक्त खाद्य संकट र वातावरणीय जोखिमबीच उहाँजस्ता जनप्रतिनिधिका प्रयास अझ सशक्त रूपमा देखिन थालेका छन्।

“पहिला लाग्थ्यो, योजना पास गर्नु र बैठकमा बोल्नु नै नेतृत्व हो। अहिले लाग्छ, खेतमा पस्नु पनि नेतृत्व हो,” चौधरीको भनाइ आफैंमा गहिरो पाठ हो—नेतृत्व र सेवा भावनाको पाठ हाे।

सावित्री चौधरीको नेतृत्वले देखाइरहेको छ—जनप्रतिनिधि केवल भाषणमा होइन, कर्ममा पनि नापिनुपर्छ। माटो र मानवीय सोचबीचको पुल बनेर, उहाँले एक यस्तो यात्राको थालनी गर्नुभएकाे छ, जहाँ आत्मनिर्भरता, स्वास्थ्य र वातावरण एकसाथ हुर्किन्छन्।

प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०८२  १८:३२
प्रतिक्रिया दिनुहोस्