सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
काठमाडौँ,६ चैत - नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाको राजीनामा अस्वीकृत गर्ने संकेत दिएका छन् । निर्वाचनमा पार्टीले बेहोर्नुपरेको हारको नैतिक जिम्मेवारी लिँदै सभापति थापाले बुधबार शर्मालाई राजीनामा बुझाएका थिए ।
सभापतिले राजीनामा उपसभापतिलाई बुझाउनुपर्ने र उपसभापतिले केन्द्रीय कार्यसमिति बैठकमा त्यसलाई प्रस्तुत गर्नुपर्ने व्यवस्था पार्टी विधानमा छ । कांग्रेसको बैठक शुक्रबार सुरु हुँदै छ । बैठकको प्रारम्भमा नै सभापति थापाको राजीनामा पत्रमाथि छलफल गरेर टुंगोमा पुगिने महामन्त्री प्रदीप पौडेलले जानकारी दिएका छन् ।
बैठकमा उपसभापति शर्माले निर्वाचनको प्रारम्भिक समीक्षा, सभापतिको राजीनामा पत्र र राजीनामा अस्वीकृत गर्ने प्रस्ताव एकैसाथ पेस गर्ने तयारी छ । सिंगो केन्द्रीय कार्यसमितिले सर्वसम्मतिबाट थापाको राजीनामा अस्वीकृत गर्ने सम्भावना रहेको एक पदाधिकारीले बताए । विशेष महाधिवेशनबाट चुनिएको थापा नेतृत्वको केन्द्रीय कार्यसमितिमा पूर्वसभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्षका कोही पनि छैनन् । केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले धेरै अगाडिदेखि थापालाई भेटेर नै राजीनामा नदिन दबाब दिँदै आएका थिए ।
पार्टी र आफू स्वयंले निर्वाचनमा हार बेहोरेपछि नै सभापति थापाले राजीनामा दिने मनस्थिति बनाएका थिए । उपसभापति शर्मासँग २५ फागुनमा भएको भेटमै थापाले राजीनामा दिने जानकारी गराएका थिए । त्यसपछि शर्माले नै थापाको राजीनामा रोक्दै आएका थिए । विशेष महाधिवेशन र त्यसले निर्वाचित गरेको सभापति वा अरू पदाधिकारी नभएर पुरानो नेतृत्वले धेरै समयदेखि थुपारेको विकृतिका कारण निर्वाचनमा पार्टी पराजय भएको शर्माले तर्क गर्दै आएका छन् ।
पूर्वसभापति देउवा पक्षका केही नेताले भने चुनावमा अपेक्षित परिणाम नआएपछि नैतिकताको प्रश्न उठाउँदै सामाजिक सञ्जालमा थापाको राजीनामा माग्दै आएका थिए । देउवा पक्षकै पनि कतिपय नेताले सभापति थापालाई राजीनामा नदिई पार्टीलाई एकसाथ अघि बढाउँदै विशेष महाधिवेशनको तयारीमा जुट्न सुझाव दिएका थिए ।
उपसभापति शर्मा यति बेलाको प्रधान नैतिक दायित्व स्थिति सम्हाल्ने रहेको बताउँछन् । ‘नैतिक जिम्मा लिन्छु भन्नु सकारात्मक हो, डढेलो निभाउन पुगेको व्यक्तिलाई आगलागीकै दोष बोकाउनु न्यायासंगत हुँदैन,’ उनी भन्छन् ।
सभापति थापाले राजीनामा पत्रमा आफ्नो निर्णय पराजित मानसिकताको उपज नभएर जिम्मेवारीबोधको अभिव्यक्ति रहेको उल्लेख गरेका छन् । सभापतिबाट राजीनामा दिए पनि पार्टी सुधार र पुनर्निर्माणको यात्राबाट आफू अलग नभएको उनले जनाएका छन् । ‘मैले पार्टी सभापतिबाट राजीनामा दिने निर्णय गरेको छु तर पार्टी सुधार र पुनर्निर्माणको यात्राबाट अलग भएको छैन,’ उनले भनेका छन्, ‘आगामी दिनहरूमा देशका विभिन्न भागमा पुगेर पार्टीका साथीहरू र आमनागरिकसँग संवाद गर्नेछु, आमनागरिकको भावना बुझ्नेछु र सुझाव सुन्नेछु, कांग्रेसको पुनर्निर्माणमा यात्रामा सक्रिय ऊर्जाका साथ लाग्नेछु ।’
२७–३० पुसमा भृकुटीमण्डपमा भएको विशेष महाधिवेशनले शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमिति भंग गरेर थापा नेतृत्वको नयाँ कार्यसमिति चयन गरेको थियो । विशेष महाधिवेशनले पार्टी रूपान्तरणका लागि नयाँ नीतिसमेत पारित गरेको थियो । लगत्तै निर्वाचनमा होमिएको कांग्रेसले ‘बदल्यौं कांग्रेस, बदल्छौं देश’, ‘अबकी बार सय पार’ जस्ता नारा अघि सारेको थियो । त्यसका बाबजुद सभापति थापा स्वयं सर्लाही–४ मा रास्वपाको उम्मेदवार अमरेशकुमार सिंहसँग पराजित भए भने कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी ३८ सिट मात्रै ल्यायो ।
त्यसपछि पूर्वसभापति देउवा पक्षको एउटा समूहले थापामाथि नैतिक प्रश्न उठाउँदै आएको थियो । नेताहरूका अनुसार थापाले राजीनामा दिएर नियमित महाधिवेशनमा सभापतिको प्रतिस्पर्धी हुन चाहेका छन् । तर, केन्द्रीय कार्यसमिति उनको राजीनामा स्वीकृत गर्ने पक्षमा देखिँदैन । महामन्त्री पौडेलले राजीनामा स्वीकृत हुन्छ कि भन्ने डरले सभापतिले राजीनामा नदिएको बताए । ‘उहाँको चाहना राजीनामा स्वीकृत होस् भन्नेतिर नै थियो । हामीसँगको कुराकानीमा पनि स्वीकृत गरियोस् भन्ने नै थियो,’ उनले भने, ‘कार्यसमितिका बहुसंख्यक सदस्यहरू राजीनामाको पक्षमा देखिनु हुन्न ।’
महामन्त्री पौडेलका अनुसार विशेष महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमितिको मुख्य जिम्मेवारी नियमित महाधिवेशन गराउने हो । ‘त्यसैले अबको बैठकले त्यसको कार्यतालिकामा छलफल गर्छ र एउटा निर्णय लिन्छ,’ उनी भन्छन्, ‘विशेष महाधिवेशनले दिएको जिम्मेवारी पूरा गर्ने कर्तव्य सभापतिको पनि हो । त्यसैले त्यस जिम्मेवारीबाट भाग्ने काम हुन्न । बैठकले सभापतिको राजीनामाको विषय टुंग्याएपछि अरू विषयमा छलफल प्रवेश हुन्छ ।’