दशैं दशैं
Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

रुन्टीगढीमा लैङ्गिक हिंसा निवारण सम्बन्धी बैठक सम्पन्न, पीडितलाई न्याय र राहतका लागि बजेट व्यवस्था गरिने

मंगलबार, जेठ १२, २०८३

रोल्पा, जेठ १२ । रुन्टीगढी गाउँपालिका मा लैङ्गिक हिंसा निवारण तथा पीडित संरक्षण सम्बन्धी महत्वपूर्ण बैठक सम्पन्न भएको छ । समाजमा बढ्दै गएको लैङ्गिक हिंसा न्यूनीकरण, पीडितको पहिचान तथा न्यायमा पहुँच सुनिश्चित गर्ने उद्देश्यसहित बैठक आयोजना गरिएको हो ।

‎रुन्टीगढी गाउँपालिका कार्यपालिका सभाहलमा मङ्गलबार आयोजित बैठकमा लैङ्गिक हिंसा निवारण समिति संयोजक सरिता केसीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष जनक पुनको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत धनीप्रसाद खड्का, हुरेक नेपाल रोल्पाका प्रमुख चन्द्र ज्ञवाली, इलाका प्रहरी कार्यालय होलेरीका प्रमुख मनिष थापा, नेपाल रेडक्रस सोसाइटी होलेरी उपशाखाका संस्थापक अध्यक्ष देवेन्द्र बोहरा लगायत विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

‎बैठकमा लैङ्गिक हिंसा कसरी पहिचान गर्ने, हिंसापीडितलाई कसरी संरक्षण गर्ने तथा उनीहरूलाई न्याय दिलाउन स्थानीय तहले खेल्नुपर्ने भूमिकाबारे विस्तृत छलफल गरिएको थियो । सहभागीहरूले हिंसाबाट पीडित भएका व्यक्तिलाई आर्थिक अभावकै कारण न्यायबाट वञ्चित हुन नदिन गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत राहत तथा सहयोग कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको हुन ।

‎त्यसैगरी, समाजमा लैङ्गिक हिंसा अन्त्य गर्न सचेतना अभिवृद्धि, पीडितमैत्री वातावरण निर्माण तथा कानुनी पहुँच विस्तार गर्न सामूहिक रूपमा काम गर्ने योजना अघि सारिएको थियो । कार्यक्रममा विद्यालय, प्रहरी, न्यायिक समिति, महिला तथा बालबालिका शाखा, विपद् तथा रोजगार शाखाका प्रतिनिधिहरूले समेत आफ्नो धारणा राखेका थिए ।

‎बैठक KOICA / UNFPA को आर्थिक सहयोग तथा Plan International Nepal र हुरेक नेपाल रोल्पाको प्राविधिक सहयोगमा सम्पन्न भएको हो । कार्यक्रमको सहजीकरण हुरेक नेपाल रोल्पाका फिल्ड अफिसर अमर थापाले गर्नुभएको हो।

‎स्थानीय तह, सुरक्षाकर्मी, विद्यालय र सामाजिक संघसंस्थाबीचको सहकार्यले लैङ्गिक हिंसा विरुद्धको अभियानलाई अझ प्रभावकारी बनाउने विश्वास सहभागीहरूले व्यक्त गरेका छन् ।


‎

प्रकाशित मिति: मंगलबार, जेठ १२, २०८३  १५:०५
प्रतिक्रिया दिनुहोस्