सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
रोल्पा होलेरी ,अन्तर्राष्ट्रिय बालश्रम विरुद्धको दिवस २०८३ को अवसरमा रोल्पाको रुन्टीगढी गाउँपालिकामा माध्यमिक विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ। “बालश्रमः कारण, प्रभाव र समाधान” विषयक प्रतियोगिता श्रम तथा रोजगार शाखा, रुन्टीगढी गाउँपालिकाको आयोजनामा सम्पन्न भएको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनीप्रसाद खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। प्रतियोगितामा सहभागी विद्यार्थीहरूले प्रस्तुत गरिएको विषयमा बालश्रमका कारण, त्यसका सामाजिक, आर्थिक तथा शैक्षिक प्रभावहरू र समस्या समाधानका उपायहरू समेटेर आफ्ना निबन्ध लेखेका थिए। प्रतियोगितामा सूर्योदय माध्यमिक विद्यालय मसिनाकी छात्रा बिमला घर्ती प्रथम, जनकल्याण माध्यमिक विद्यालय सर्पालकी छात्रा सम्झना पुन द्वितीय तथा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय रिठाबोटकी छात्रा सुरक्षा कंवर तृतीय हुन सफल भइन्। त्यसैगरी महेन्द्र माध्यमिक विद्यालय होलेरीका छात्र दिलबहादुर थापा सान्त्वना स्थान हासिल गर्न सफल भए। उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो। साथै प्रतियोगितामा सहभागी सबै विद्यार्थीहरूलाई यातायात खर्चसमेत उपलब्ध गराइएको आयोजकले जनाएको छ। कार्यक्रम सफल बनाउन श्रम तथा रोजगार शाखाका संयोजक सुभाषचन्दको महत्वपूर्ण भूमिका रहेको थियो। कार्यक्रमको सहजीकरण प्रशासन शाखा प्रमुख सानोबाबु खड्काले गर्नुभएको थियो भने निबन्धहरूको मूल्याङ्कन महेन्द्र माध्यमिक विद्यालय होलेरीका नेपाली विषयका शिक्षक हेमन्त खड्काले गर्नुभएको थियो। बालश्रम अन्त्यका लागि विद्यालयस्तरमै चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले विद्यार्थीहरूमा बालअधिकार, शिक्षा तथा सामाजिक उत्तरदायित्वप्रति सकारात्मक सन्देश प्रवाह गरेको विश्वास गरिएको छ।