सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
रोल्पा । रुन्टीगढी गाउँपालिकामा कार्यरत नगर प्रहरी प्रमुख लीलाराज थापाले स्थानीयवासी, होटल तथा व्यवसायीलाई सकारात्मक सोचका साथ बजार व्यवस्थापनमा सहकार्य गर्न आग्रह गर्नुभएको छ।
रुन्टीगढी गाउँपालिका क्षेत्रलाई व्यवस्थित, स्वच्छ र राम्रो बनाउन स्थानीयवासीको सोच र व्यवहारमा समेत सकारात्मक परिवर्तन आवश्यक रहेको उहाँले बताउनुभयो। विगत तीन वर्षदेखि रुन्टीगढी गाउँपालिकामा कार्यरत रहेको उल्लेख गर्दै थापाले बजार तथा गाउँको विकास र व्यवस्थापनका लागि विभिन्न काममा आफूहरूले अग्रसरता देखाउँदै आएको बताउनुभयो।
स्थानीय तह वा सम्बन्धित निकायले राम्रो काम गर्न खोज्दा त्यसमा कमी–कमजोरी देखिए सुझाव र सल्लाह दिन सकिने भए पनि सकारात्मकभन्दा नकारात्मक टिप्पणी गर्ने प्रवृत्तिमा सुधार आवश्यक रहेको उहाँको भनाइ छ।
“हामीले नराम्रो काम गर्न थालेका छौँ भने सुझाव र सल्लाह दिनुहोस्, तर सकारात्मक भन्दा बढी नकारात्मक टिप्पणी गर्ने बानीमा सुधार गर्नुपर्छ,” थापाले भन्नुभयो।
चाडपर्व नजिकिँदै गर्दा मदिरा सेवनका कारण हुन सक्ने झैझगडा तथा अवाञ्छित गतिविधिप्रति पनि उहाँले सचेत रहन आग्रह गर्नुभएको छ। होटल व्यवसायी, पसल सञ्चालक तथा स्थानीय बासिन्दा सबैले विशेष सजगता अपनाउनुपर्ने उहाँको भनाइ छ।
बजार क्षेत्रमा देखिँदै आएको फोहोर व्यवस्थापनको विषयमा पनि थापाले ध्यानाकर्षण गराउनु भएको छ। रुन्टीगढी गाउँपालिकाले फोहोर व्यवस्थापनका लागि टेन्डर आह्वान गरी साप्ताहिक दुई दिन फोहोर संकलन गर्ने व्यवस्था गरेको उहाँले जानकारी दिनुभयो।
उहाँका अनुसार फोहोर संकलनका लागि आइतबार र बिहीबारको रुटिङ तोकिएको छ। बिहीबार फोहोर संकलन गर्नुपर्ने भए पनि आफूले सम्बन्धित क्षेत्रमा फोहोर संकलन गर्ने सवारीसाधन नदेखेको भन्दै यसबारे सम्बन्धित व्यक्तिलाई जानकारी गराउने उहाँले बताउनुभयो।
थापाले होटल व्यवसायी, पसल व्यवसायी तथा स्थानीय बासिन्दा सबै मिलेर बजारलाई सफा, व्यवस्थित र आकर्षक बनाउनुपर्नेमा जोड दिनुभयो। मदिरा बिक्री–वितरणका विषयमा रुन्टीगढी गाउँपालिकाले यसअघि नै आवश्यक निर्णय गरी समय तथा प्रक्रियासम्बन्धी व्यवस्था गरिसकेको उहाँले बताउनुभयो। गाउँपालिकाले तोकेको मदिरा बिक्री–वितरणसम्बन्धी समय तालिका र नियम व्यवसायीले अनिवार्य रूपमा पालना गर्नुपर्ने थापाको भनाइ छ।
“गाउँपालिकाले मदिरा बिक्री–वितरणका लागि समय तालिका र आवश्यक व्यवस्था पहिल्यै गरिसकेको छ। त्यसको पालना गर्न मात्रै आवश्यक छ,” उहाँले भन्नुभयो।चाडपर्वका समयमा मदिरा सेवनका कारण हुन सक्ने सम्भावित विवाद तथा झैझगडा न्यूनीकरण गर्न व्यवसायी र स्थानीयवासीले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। समग्रमा रुन्टीगढी बजारलाई थप व्यवस्थित, स्वच्छ र सुरक्षित बनाउन स्थानीय सरकार, व्यवसायी तथा आम नागरिकबीच सहकार्य र सकारात्मक सोच आवश्यक रहेको नगर प्रहरी प्रमुख थापाको भनाइ छ।