दशैं दशैं
Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना, शक्तिपीठमा भक्तजनको भीड

शुक्रबार, असोज ३०, २०८३

काठमाडौं,३० असोज - बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज देशभरका दुर्गा भवानीका मन्दिर तथा घरघरका पूजास्थलमा नौ दुर्गामध्येकी छैटौँ देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदैछ।

हरेक वर्ष आश्विन शुक्ल षष्ठीका दिन कात्यायनी देवीको पूजा गर्ने वैदिक सनातनी परम्परा रहेको छ। नवरात्रका अवसरमा देवी दुर्गाका विभिन्न स्वरूपको पूजा आराधना गरिँदै आएको छ।

नवरात्रको पहिलो दिन असोज २५ गते घटस्थापना गरी दशैँ घर तथा पूजा कोठामा जमरा राखिएको थियो। सोही दिन पहिलो देवी शैलपुत्रीको पूजा आराधना गरिएको थियो। दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा र पाँचौँ दिन स्कन्दमाता देवीको पूजा आराधना गरिएको थियो।

नवरात्रका नौ दिनसम्म घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठ गर्ने परम्परा छ। नौ दिनसम्म विधिपूर्वक पूजा आराधना गरेपछि तयार पारिएको प्रसाद तथा जमरा विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने चलन छ। कतिपय स्थानमा भने कुल परम्पराअनुसार विजयादशमीका दिन मात्रै टीका र जमरा लगाउने गरिन्छ।

नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा बिहानैदेखि भक्तजनको भीड लाग्ने गरेको छ। काठमाडौं उपत्यकाका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, रक्तकाली, श्वेतकाली, बिजेश्वरी, कङ्केश्वरी, कलङ्कीमाई, चामुण्डा देवी, सुन्दरीमाई, बज्रयोगिनी, इन्द्रायणी र बगलामुखीलगायत मन्दिरमा भक्तजन पूजा तथा दर्शनका लागि पुगिरहेका छन्।

त्यसैगरी, काठमाडौं बाहिरका पलाञ्चोक भगवती, नाला भगवती, चण्डेश्वरी, पाल्चोक भगवती, कमलामाई, इच्छाकामना, मनकामना, गढीमाई, छिन्नमस्ता, पाथीभरा, दन्तकाली, गहवामाई, बागलुङ कालिका, विन्ध्यवासिनी, तालबाराही, शैलेश्वरी, बडीमालिका र उग्रतारालगायत शक्तिपीठमा पनि भक्तजनको चहलपहल बढेको छ।

नवरात्रलाई शक्ति, श्रद्धा र भक्तिको पर्वका रूपमा लिइन्छ। यस अवधिमा देवी दुर्गाका नौ स्वरूपको पूजा आराधना गरी सुख, शान्ति, समृद्धि तथा परिवारको कल्याणको कामना गर्ने धार्मिक विश्वास छ।

प्रकाशित मिति: शुक्रबार, असोज ३०, २०८३  ०६:१०
प्रतिक्रिया दिनुहोस्