Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

द्वन्दपीडित विद्यार्थीको  छहारी शहीद स्मृति आवासिय विद्यालय

बिहीबार, माघ २५, २०८०

दाङ - दाङको तुलसीपुर १७ बनकट्टा स्थित शहीद स्मृति आवासिय विद्यालय । जहाँ साविक राप्तीसहित विभिन्न जिल्लाका ६ सय ४५ विद्यार्थी छन् । जो द्वन्दपीडित परिवारका छोराछोरी हुन् । १० बर्षे जनयुद्ध तथा जनआन्दोलनका सहीद तथा घाईते परिवारका छोराछोरीलाई उक्त विद्यालयमा पढाउने गरिन्छ । त्यति मात्रै होईन्, पालन पोषण पनि त्यही नै गरिन्छ । त्यही विद्यालय परिवारको पीडा भुलाउने माध्याम बनेको छ ।

आफू ७ महिना हुँदा वुवा शहीद भएपछि टुहुरो भएका रोल्पा सुनछहारीका पर्सुराम रोकाले विज्ञान विषय लिएर कक्षा १२ सम्म त्यहाँ पढ्नु भयो । “वुवा शहीद भएपछि टुहुरो हुनुभएका पर्सुरामलाई आमाले जसो–तसो गाउँमै कक्षा ८ सम्म पढाउनुभयो । त्यसपछि शहीद स्कुलमा कक्षा ९ देखि पढ्न आउनु भयो । “मलाई यो विद्यालयका बारेमा थाहा थिएन,यहाँ बस्ने अन्टीले भनेपछि मात्रै थाहा भयो र यहाँ आएँ”,उहाँले भन्नुभयो“ मैले रोल्पाबाटै कक्षा ८ पास गरेपनि यहाँ अग्रेजी माध्याम भएकाले पुनः ८ मा नै भर्ना भएर पढेँ ।”

यहाँ आएपछि वुवा, आमाको माया पाएजस्तो अनुभूति भएको उहाँले बताउनुभयो । शिक्षकहरुलाई वुवा जस्तै, खाना पकाउने अन्टीलाई आमा,वुवा जस्तै र त्यहाँ पढ्ने विद्यार्थीहरुलाई दाजु भाई जस्तै लाग्ने गरेको उहाँ बताउनुहुन्छ ।“वुवा भनेको वुवा नै हो, वुवाको जस्तो माया त कहाँ पाईन्छ होला ररु”,उहाँले भन्नुभयो“ तर, यहाँ पाएपछि वुवाआमाको माया पाएजस्तै भएको छ, दाजु भाईसंग भेट भएको महशुस भएको छ ।” यहाँ सबै शहीद,बेपत्ता,घाइतेहरुका छोराछोरी भेट्दा मनका कुरा हुन्छन्, खुसी लाग्ने गरेको उहाँले बताउनुभयो ।

त्यस्तै सोही विद्यालयमा द्वन्दपीडित अञ्जना दहितले पनि १२ पढि सक्नु भयो । उहाँले पनि विद्यालयमा विभिन्न १६ जिल्लाका द्वन्दपीडित अध्ययनरत विद्यार्थीहरुबीच भावना साटासाट हुने गरेको बताउनुभयो ।“पढाई त छदैछ, यो विद्यालय हाम्रो भावना साट्ने थलो बनेको छ”,उहाँले भन्नुभयो“सबैका मनका कुरा सुन्दा खुसी लाग्छ ।” कोही शहीद परिवारका हुनुहुन्छ, कोही वेपत्ता त, कोही अपाङ्ग, घाइते परिवारका हुनुहुन्छ । उहाँहरु, हामीहरुबीच कुरा हुँदा मन हल्का हुन्छ । भावना साटासाट हुन्छ, यसले हामीलाई सुखद अनुभूति गराउँछ ।

उहाँका वुवाले ३र४ बर्ष जनयुद्धका क्रममा जेल जीवन विताउनुभएको थियो । उहाँहरु जस्तै अहिले विद्यालयमा ६ सय ४५ द्वन्दपीडित आवासीय विद्यार्थीहरु अध्ययनरत हुनुहुन्छ । जहाँ केजीदेखि कक्षा १२ सम्म पढाई हुन्छ ।

२०६६ सालमा जनकल्यान मावि दुधराससंग सहकार्य गरि उक्त विद्यालय सञ्चालनमा आएको हो । सोही विद्यालयमा आवासिय र शैक्षिक कार्यक्रमकालागि सरकारले अनुदान रकम उपलब्ध गराउने गरेको छ । सोही विद्यालयमा अंग्रेजी माध्यामबाट पठन–पाठन भइरहेको प्रधानाध्यापक धनेश्वर पोख्रेलले बताउनुभयो । २०७७ सालदेखि सोही विद्यालयमा सिटिइभिटी अन्तर्गत ३ बर्षे सिभिल इन्जिनियरिङ पनि पढाई भइरहेको छ ।


सोही विद्यालयलाई शिक्षा विद्येयकमा उल्लेख नगरिएको भन्दै प्रधानाध्यापक पोख्रेलले दुखेसो पनि पोख्नुभयो ।“विद्यालयको प्रकृति द्वन्दपीडित शिक्षा कार्यक्रम अन्तर्गत पर्ने भएकाले नीतिगत रुपमा स्पस्ट प्रमाणसहितका विद्यार्थी आउनेक्रम घट्दो छ”,उहाँले भन्नुभयो“कक्षा ८ देखि तल्लो कक्षामा द्वन्दपीडितका छोराछोरी भन्दा तेस्रो पीढीका नाति, नातिनाहरु बढि सक्रिय रहेको देखिन्छ ।”

कक्षा ८ देखि माथि मात्रै नीतिगत रुपमा प्रमाणित द्वन्दपीडितका छोराछोरीहरु रहेको भन्दै यो अबस्थाले आगामी दिनमा शहीद स्मृति विद्यालयमा कस्ता विद्यार्थीहरुलाई भर्ना गरि सञ्चालन गर्र्ने भन्ने कुरा चुनौति रहेको उहाँले बताउनुभयो ।
साथै विद्यालयमा २१ जना शिक्षकसहित स्वास्थ्यकर्मी १ जना, लेखापाल १ जना, लाइव्रेरियन १, कार्यालय सहयोगी २, सुरक्षागार्ड १, मेस कर्मचारी ४ जना, सरसफाई १ जना गरि ३२ जना कर्मचारी कार्यरत रहेका छन् । त्यस्तै चारवटा तीन तले भवन छन्, भने चारवटा दुई तले भवन छन् ।

उच्च शिक्षा नहुँदा समस्या
द्वन्दपीडित परिवारका विद्यार्थीहरुले उच्च शिक्षा पढ्ने वातावरण मिलाउनु पर्ने बताएका छन् । सरकारले कक्षा १२ सम्म पढ्ने निःशुल्क पठन–पाठनको ब्यबस्था गरेको भएपनि त्यो भन्दा माथिल्लो शिक्षा पढ्न नपााउँदा धेरै द्वन्दपीडित विद्यार्थीहरु पढाई छोड्ने गरेको भन्दै त्यो भन्दा माथिल्लो शिक्षा पनि निःशुल्क गराउनु पर्ने विद्यार्थीहरुको माग छ ।“सरकारले १२ सम्म निःशुल्क पठन–पाठनको ब्यबस्था त गरेको छ”,विद्यार्थी पर्सुराम पुनले भन्नुभयो“त्यतिले मात्रै हुँदैन, हाम्रा अभिभावक हुनुहुदैन्, हामीलाई माथिल्लो शिक्षा कस्ले दिन्छ, त्यसैले हामीलाई निःशुल्क शिक्षाको ब्यबस्थापन गर्नुपर्छ ।”

साथै उहाँले अभिभावक भनेको पार्टी पनि रहेको भन्दै पार्टी विभाजनले आफूहरु जस्ता शहीद परिवारहरुलाई दुःखी बनाएको बताउनुभयो । माओवादी टुटफुट हुँदा शहीदका सपनाहरु अझै पूरा हुन नसकेको उहाँको भनाई छ ।

द्वन्दपीडित बालबालिकाको भविष्य सुधार भयो :मन्त्री मास्की
अभिभावक शहीद भएपछि टुहारा बालबालिकाहरुलाई पालनपोषण र शिक्षा दिन शहीद आवासिय विद्यालय खोलिएको लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले बताउनुभयो । माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका मन्त्री मास्कीले मुलुकमा पाँच वटा यस्ता विद्यालयहरु रहेको भन्दै ति विद्यालयले द्वन्दपीडितका विद्यार्थीहरुलाई दिएको शिक्षा र पालनपोषण निकै स्रहानिय रहेको बताउनुभयो । इतिहास बोकेका परिवारका सन्तानको छहारी भएका यस्ता विद्यालयलाई सरकारले उचित ढंगले मूल्यांकन गरेको बताउनुभयो । साभार दाङलाइभबाट

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १६:०४
प्रतिक्रिया दिनुहोस्
समाचार