राप्तीमा सरसफाइ सचेतना कार्यक्रम सुरु : फोहोरमैला व्यवस्थापनमा स्थानीय सरकार सक्रिय

मंगलबार, जेठ १३, २०८२

भालुबाङ, १३ जेठ - दाङको राप्ती गाउँपालिकाले फोहोरमैला व्यवस्थापनलाई प्रभावकारी बनाउँदै वातावरण संरक्षण र सार्वजनिक स्वास्थ्य सुरक्षाका लागि
साेमबारदेखि एक हप्ते ‘सरसफाइ सचेतना कार्यक्रम’ सुरु गरेको छ।

गाउँपालिकाले आशाका किरण संस्थासँगकाे सहकार्य तथा प्रहरी , टोल विकास संस्था र सरोकारवाला नागरिकहरूको समन्वयमा साे  कार्यक्रम सुरु गरेको हो।

कार्यक्रमको थालनी भालुवाङ बजार क्षेत्रबाट गरिएको छ। सरसफाइ तथा फोहोर व्यवस्थापनसम्बन्धी जनचेतनामूलक सन्देश प्रवाह गर्दै स्थानीय व्यापारी, यात्रु तथा सवारीसाधन सञ्चालकहरूलाई सडकमा फोहोर नफाल्न, डस्टबिनको प्रयोग गर्न तथा सरसफाइमा विशेष ध्यान दिन आग्रह गरिएको छ। साथै, सार्वजनिक सवारी साधनहरूमा अनिवार्य रूपमा डस्टबिन राख्न सुझाव दिइएको छ। WhatsApp-Image-2025-05-27-at-6.33.09-AM-1748325881.jpeg

कार्यक्रम अन्तर्गत गाउँपालिकाभित्र पर्ने प्रमुख बजार क्षेत्रका होटल, पसल, बस्ती तथा सडक किनारमा उत्पादन हुने फोहोर व्यवस्थित गर्न व्यापक जनचेतनामूलक गतिविधिहरू सञ्चालन गरिएका छन्। शान्तिपुरदेखि सिङ्गे खोलासम्म फैलिएको पूर्व–पश्चिम राजमार्ग तथा गाउँपालिकाका मुख्य सडक क्षेत्रलाई प्राथमिकता दिइएको छ।

गाउँपालिकाले सरसफाइलाई उच्च प्राथमिकतामा राख्दै समुदाय तथा बस्ती स्तरमै फोहोर वर्गीकरण, व्यवस्थापन र सचेतनामूलक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको छ। सरसफाइ शाखा प्रमुख गीता चौधरीका अनुसार, पोस्टर, पम्प्लेट वितरण, सडक नाटक, रेडियो कार्यक्रम र प्रत्यक्ष संवादमार्फत नागरिकमा सरसफाइप्रतिको चेतना अभिवृद्धि गरिँदैछ।

फोहोर व्यवस्थापनलाई थप व्यवस्थित गर्न गाउँपालिकाले ‘सरसफाइ केन्द्र’ समेत स्थापना गरेको छ। सो केन्द्रमा सङ्कलित फोहोरलाई पुनः प्रयोग गरी इन्टरलक र टायल उत्पादन सुरु गरिएको छ। यसले फोहोरलाई उपयोगी सामग्रीमा रूपान्तरण गर्दै वातावरण संरक्षणसँगै स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न सहयोग गरिरहेको छ।

सरसफाइ सुपरिवेक्षक सुरेश बैमा मगरका अनुसार, अभियानमा प्रहरी प्रशासन, विद्यालय, स्थानीय युवा क्लब, टोल विकास संस्था, महिला समूहलगायत सरोकारवाला निकायहरूसँग सहकार्य गरिएको छ।

गाउँपालिका अध्यक्ष प्रकाश विष्टले सरसफाइ सचेतना कार्यक्रम दीर्घकालीन सोचअनुसार अघि बढाइएको बताउनुभयो। फोहोरमैला व्यवस्थापन, वातावरण संरक्षण र नागरिक स्वास्थ्यलाई एकसाथ सम्बोधन गर्न कार्यक्रमले मद्दत गर्ने विश्वास व्यक्त गर्दै, उहाँले समुदायको सक्रिय सहभागितामार्फत वातावरणमैत्री व्यवहारको विकास अपरिहार्य रहेको उल्लेख गर्नुभयो।

उहाँले भन्नुभयो, “गाउँपालिकाले फोहोर व्यवस्थापनमा नयाँ दृष्टिकोण अवलम्बन गर्दै स्थायी समाधानतर्फ पाइला चालेको छ। नागरिक तहबाटै स्वच्छता र जिम्मेवार व्यवहारको विकासले मात्रै सफा र समुन्नत राप्तीको परिकल्पना साकार हुन सक्छ।”

गाउँपालिकाले सचेतना कार्यक्रमपछि पनि सार्वजनिक स्थलहरूमा जथाभावी फोहोर फाल्नेहरूमाथि प्रचलित कानुनअनुसार आवश्यक कारबाही गरिने स्पष्ट पारेको छ। यसले दीर्घकालीन समाधानतर्फ मार्गनिर्देशन गर्दै जिम्मेवार नागरिक संस्कारको विकासमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  ११:४९
प्रतिक्रिया दिनुहोस्
समाचार